स्पेनमा ज्यान गुमाएका लोकगायक लम्सालको शव नेपाल ल्याएर अन्त्येष्टि

अन्त्येष्टिअघि स्वर्गीय लम्साललाई अन्तिम श्रद्धाञ्जली दिँदै कलाकार एवं शुभचिन्तकहरु

स्पेनमा ज्यान गुमाएका वरिष्ठ लोकगायक राजेन्द्र लम्साल क्षेत्रीको पार्थिव शरीरलाई नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ। केही समयदेखि विरामी उनको गत फागुन २३ गते उपचारका क्रममा स्पेनस्थित एक अस्पतालमा निधन भएको थियो । क्षेत्रीको शव १० दिनपछि काठमाडौं ल्याएर पशुपति आर्यघाटको विद्युतिय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । क्षेत्री ६० वर्ष अघि स्याङ्जाको ज्याग्दीखोलामा जन्मिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरेको थियो। थुप्रै कलाकार एवं शुभचिन्तकहरू पशुपति पुगेर उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।

लम्साल सागर लम्साल (बले) का बुवा हुन् । लोक गीत क्षेत्रका पुराना गायक लम्सालले गाएका दर्जनौं गीत अहिले पनि लोकप्रिय छन्। ‘जापान टोकियो’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मर्स्याङ्दीको पुल’ लगायतका उनका गीत लोकप्रिय छन् । उनी केही वर्षयता स्पेनमा रहेर व्यवसाय संचालन गर्दै आएका थिए।

समाजद्वारा दु:ख व्यक्त

क्षेत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्याङ्जा सेवा समाज, अन्तराष्ट्रिय समन्वय समितिले शोक वक्तव्य जारी गरिसकेको छ । समाजले भनेको छ, “स्याङ्जाको ज्याग्दिखोला स्थायी घर भई राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक दोहोरी गायन क्षेत्रमा देश तथा बिदेशका समस्त नेपालीको मन मुटुमा बस्न सफल स्याङ्जाको सान दोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको स्पेनमा भएको असामयिक निधनको खबरले सिङ्गो समाजलाई स्तब्ध बनाएको छ, यस दुःखद् घडीमा मृतकको आत्मा शान्तिको कामना सहित भाबपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछौँ।”

Read Previous

team samaj

Read Next

स्याङ्गजा समाज अमेरिकाद्वारा सरीता विक सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *